लुम्बिनी

अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै

१४ फागुन, बाँके । पर्यटन प्रवर्द्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन हुने भएको छ ।

“कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ गर्न खोजिरहेका छौँ,। तर अहिले पानी कम भएको पायौँ । पानीको सतह बढेपछि सुरु हुन्छ”, राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले भने । उनले रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको बताउँदै यसका लागि निजी क्षेत्रको लगानी आवश्यक पर्ने बताए ।

उनका अनुसार निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीकोसमेत व्यवस्था गरिएको संरक्षण अधिकृत कँडेलको भनाइ छ ।

“कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन्, त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्यापर्यटनको आनन्द लिन सक्नुहुन्छ”, उनले भने । निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने न्यूनतम पूर्वाधार तयार गरे पनि निजी क्षेत्रले त्यसलाई आत्मसात् गर्न नसकेको उल्लेख गर्दै उनले जिप सफारी गर्न पूर्वाधार तयार भएको जानकारी दिए ।

“जिप सफारी गर्न पूर्वाधार तयार भए पनि व्यवसायीसँग जीप नभएकाले तत्काल सञ्चालनमा आएको छैन”, कँडेलले भने, “निकुञ्जले पूर्वाधार बनाइसकेको अवस्थामा पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्र लाग्नुपर्छ ।”

उनका अनुसार निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारी, चुरे हाइकिङलगायत गतिविधि खुला गरिएको छ । पर्यटक हिँड्न दुई सय किलोमिटर वनपथ, वन्यजन्तु हेर्न मचान निर्माण भइसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपालगञ्जका अगुवा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बाँके राष्ट्रिय निकुञ्ज जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको भन्दै स्थापनाको डेढ दशकसम्म पनि पर्यटक बढ्न नसक्नु दुखद् भएको बताए । उनले निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा ब्रान्डिङ गरिनुपर्नेमा जोड दिँदै अपेक्षाकृत पर्यटक आगमनले गति लिन नसक्दा निकुञ्जबाट लाभ लिने विषयमा निजी क्षेत्र अलमलमा परेका उल्लेख गरे ।

व्यवसायी कृष्णलाल चौधरीले गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जानकारी दिँदै यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उल्लेख गरे । उनले जिल्लाका प्रत्येक होटल तथा होमस्टेमा निकुञ्जका बारेमा विस्तृत जानकारी दिनेगरी व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै यस क्षेत्रको पर्यटकीय विकासका लागि निजी क्षेत्रलाई हातेमालो गर्न आग्रह गरे ।

गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको मिश्रण पाइन्छ । आसपास निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि आन्तरिक पर्यटकको प्रमुख आर्कषणकोे थलो बनेको छ । सडक तथा हवाई मार्गसँग प्रत्यक्ष जोडिएको यो निकुञ्ज २०६७ सालमा स्थापना भएको थियो ।

एघार किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु निकुञ्जमा रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।