आर्थिक

युवा पलायन रोक्न र समृद्धि ल्याउन अब संयुक्त कदमको खाँचो छ : अध्यक्ष ढकाल

२३ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता अनिवार्य रहेको उल्लेख गरे। उनले नीति स्थिर भएमा निजी क्षेत्रले लगानी विस्तार गर्न सहज हुने र त्यसले आर्थिक समृद्धिको बाटो खुल्ने बताए। युवा पलायन रोक्न र समृद्धि ल्याउन अब संयुक्त कदमको खाँचो रहेको उनले औँल्याएका छन् ।

“नीतिगत स्थायीत्व भए निजी क्षेत्रले लगानी विस्तार गर्न सक्छ” उनले भने, “अब समय आएको छ, युवाहरूलाई पलायन हुन नदिई मुलुकभित्रै दक्ष श्रमशक्ति विकास गर्न विशेष चासो दिनुपर्छ।”

अध्यक्ष ढकालले पूर्वाधार, कृषि, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेर आर्थिक समृद्धिको मार्ग पहिचानमा ढिलाइ गर्न नहुनेमा जोड दिए।