मनोरञ्जन

नारायणी किनारमा चैत्र ३१ गते भव्य सांगितिक कन्सर्ट हुँदै : पाँच चर्चित ब्याण्ड आउँदै

२८ चैत, काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा चैत्र ३१ गते भव्य सांगितिक कन्सर्ट हुने भएको छ ।

एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य सांगीतिक कन्सर्ट गर्न लागेको हो । कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहने छ । दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट राति नयाँ वर्षको स्वागत गरेसँगै सकिने छ । एकै दिन यति धेरै चर्चित ब्याण्डहरुको प्रस्तुती सायदै चितवनमा पहिलोपटक हुन लागेको आयोजकको दाबी छ ।

नयाँ वर्षमा रक्तदानको चेतना फैलाउने उद्देश्यले सांगितिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । ‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रमको तयारी यतिखेर गरिएको छ ।

एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
उक्त मिसन रेड अभियान सफल पार्न एवम् रक्तदानको चेतना फैलाउन सांगितिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कन्सर्टमा करिब १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टमा प्रवेशका लागि खल्ती एप मार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । कन्सर्टमा सहभागि भई सफल पार्न आयोजकले चितवन र यस आसपासका जिल्लाबासीसहित न्यु इएर मनाउन चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आह्वान गरेको छ । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएकाले कार्यक्रम सफल हुने आयोजकको विश्वास छ ।