२७ वैशाख, काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले गणतन्त्रको धमिरा गणतन्त्रकै नेता भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन्।
पुनले देशलाई भ्रष्टाचारले बदनाम गरेको बताउँदै भ्रष्टाचारको बिउ नेताहरूले नै रोपेको आरोप लगाए। उनले नेताहरूलाई बिगार्ने पनि लोभी पापी जनता नै रहेको बताएका छन्। उनले लेखेका छन्,’गणतन्त्रलाई बदनाम गरेको भ्रष्टाचारले हो। भ्रष्टाचारको बिउ रोपेको नेताहरूले हो। नेताहरूलाई बिगार्ने धनको लोभी पापी फटाहा जनताहरू मात्र हुन्। लोभी पापी जनताहरू बिगार्ने नेताहरू हुन्।’
आविष्कार केन्द्रका प्रमुख समेत रहेका वैज्ञानिक पुनले कुनै कारणले गणतन्त्र मासियो भने यसको सम्पूर्ण दोष नेताहरूलाई जाने जिकिर गरेका छन्। उनले हलका ऊर्जा मन्त्री नै अहिलेको उदाहरण भएको बताउँदै लेखेका छन्,’गणतन्त्र मासियो भने दोष नेताहरूलाई नै जान्छ। यदि यो कुरा सही होइन भन्ने आँट कोही गणतन्त्रवादीसँग छ भने जुहारी खेल्न आउनुहोस् । उदाहरण – हालको ऊर्जा मन्त्री। ‘