४ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले अराजक र हिंस्रक घटनामा संलग्न व्यक्तिलाई सख्त कारबाहीको माग गरेका छन् ।
उनले नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको क्रममा भएको घटना निकै दुःखद र निन्दनीय भन्दै यसले प्रजातन्त्र भनेको सिद्धान्त र अभिव्यक्ति मात्र होइन, चरित्र र व्यवहार हो भन्ने सत्यलाई उजागर गरेको बताएका छन् ।
नेविसंघका पुर्व अध्यक्ष समेत रहेका नेता घिमिरेले यो सबै पार्टीको प्राथमिकता, तदर्थवादी नीति र अस्वस्थ गुटबन्दीको नतिजा हो भन्दा अतिशयोक्ति हुने छैन। र यो आफ्ना भ्रातृसंगठनलाई बिधिसम्मत चलाउन नचाहने पार्टी नेतृत्व र केन्द्रीय समितिको प्रबृत्तिगत जिवन्त सबुत भएको बताएका छन् ।
उनको भनाई जस्ताको तस्तैः
नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको क्रममा भएको घटना निकै दुःखद र निन्दनीय छ ! यसले दलको आन्तरिक अव्यवस्था र चरम अनुशासनहिनतालाई दर्शाउँछ।ऐतिहासिक प्रतिष्ठा बोकेको नेपाली प्रजातन्त्रवादी तरुणहरुको नेतृत्वदायी यस संस्थाको आन्तरिक आयोजनामा घटेको हिंस्रक घटनाले हाम्रो बोली र व्यवहारको तात्विक अन्तर तथा संगठनको अराजकतापूर्ण यथार्थलाई प्रष्ट पार्छ। यो सबै पार्टीको प्राथमिकता, तदर्थवादी नीति र अस्वस्थ गुटबन्दीको नतिजा हो भन्दा अतिशयोक्ति हुनेछैन। र यो आफ्ना भ्रातृसंगठनलाई बिधिसम्मत चलाउन नचाहने पार्टी नेतृत्व र केन्द्रीय समितिको प्रबृत्तिगत जिवन्त सबुत पनि हो।
यसले प्रजातन्त्र भनेको सिद्धान्त र अभिव्यक्ति मात्र होइन, चरित्र र व्यवहार हो भन्ने सत्यलाई उजागर गरेको छ।
घटनामा घाइते हुने नेपाल तरुण दल लगायतका सम्पूर्ण साथीहरूको शिघ्र स्वास्थलाभको कामना गर्दै यस्तो अराजक र हिंस्रक घटनामा संलग्न व्यक्तिलाई सख्त कारबाहीको माग गर्दछु१जय नेपाल !!