५ जेठ, काठमाडौँ। विद्यालय शिक्षा विधेयकबारे उपसमितिले तयार पारेको प्रतिवेदन प्रति नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ। सरकारसँग भएको सम्झौता अनुसारको प्रतिवेदन तयार नभएको बन्दै असन्तुष्ट बनेको हो।
महासङ्घले आज बैठक बसेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले गरेको अधिकांश सम्झौतामा कतै पनि न्याय नहुने गरी प्रतिवेदन तयार गरेको महासङ्घको भनाइ छ।
हिजो आइतबार उपसमितिले दफावार छलफल सकेर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आफ्नो प्रतिवेदन बुझाएको थियो। गत चैत २० देखि महासङ्घले काठमाडौँमा २९ दिन लामो सडक आन्दोलन गरेको थियो भने १७ वैशाखमा सरकारसँग सहमति भएपछि आन्दोलन स्थगित गर्दै ऐनको प्रतीक्षामा बसेको हो।
उपसमितिले बुझाएको प्रतिवेदन भने शिक्षकका माग सम्बोधन नगर्ने र सर्त सहित आएको भन्दै महासङ्घ भड्किएको छ।