शिक्षा

शिक्षा विधेयकमाथि समितिमा आजबाट छलफल प्रारम्भ, उपसमितिको प्रतिवेदनले माग नसमेटेको महासङ्घको आरोप 

७ जेठ, काठमाडौँ । विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिले बुझाएको  प्रतिवेदनमाथि आज समितिमा छलफल हुने भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज विद्यालय शिक्षा विधेयकमाथि छलफल हुन लागेको हो। 

उपसमितिले छलफल पछि प्रतिवेदन तयार गरेर गत आइतबार समितिलाई बुझाएको थियो। समितिको कार्यालयमा आज  दिउँसो २ बजे विधेयकमाथि छलफल हुन लागेको हो।  

यता शिक्षक महासङ्घले भने उपसमितिले तयार पारेको प्रतिवेदनमा आफ्ना माग सम्बोधन गर्ने कुनै पनि विषय नसमेटिएको भन्दै आपत्ति जनाएको छ। हिजो एक विज्ञप्ति मार्फत सरकारले आफ्ना माग मुद्दालाई उपेक्षा गरेको भन्दै फेरी अर्को कडा आन्दोलन गर्न बाध्य नपार्न चेतावनी समेत दिएको थियो। 

उपसमितिले भने धेरै विषयमा सहमति जुटाएको र  केही विषयमा सहमति हुन नसकेको भन्दै बाकी कुराको ठुँगो समितिले लगाउने भन्दै प्रतिवेदन पेस गरेको थियो। 

शिक्षकहरूसँगको सहमति अनुसार सरकारलाई असार १५ गते ऐन जारी गर्नु पर्ने बाध्यात्मक अवस्था छ। सोही अनुसार आज छलफल गर्न लागेको हो।