१६ असार, काठमाडौँ। नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्या भण्डारीले पूर्व राष्ट्र प्रमुखको हैसियतमा पाउँदै आएको सरकारी सुविधा फिर्ता गर्ने तयारी गरेकी छन्। विधिवत् रूपमा एमालेको राजनीतिमा फर्किएकी उनले सरकारी सुविधा प्रयोग गरेर राजनीति गर्दा आलोचना हुने भन्दै आफूले पाएको सुविधा फिर्ताको लागि गृह मन्त्रालयमा पत्र पठाउने तयारी गरेको बताइएको छ।
सरकारले भण्डारीलाई सरकारी उपसचिव सरहको मान्यतामा एक जना स्वकीय सचिव र अर्का कार्यालय सहयोगी दिएको बताइएको छ। उनीहरूले सरकारकै तर्फबाट सेवा सुविधा लिँदै आएका छन्।
आर्थिक वर्ष सुरु हुन साथ आफूले लिँदै आएको सुविधा कटौतीको लागि पूर्व राष्ट्रपति भण्डारीले गृहमा पत्राचार गरेको कुरा विभिन्न सञ्चार माध्यमा आइसकेको छ। भण्डारी अब एमालेको राजनीतिक केन्द्रमा रहेको विश्लेषण हुँदै आएको छ। उनको राजनीतिक सक्रियता आगामी महाधिवेशनबाट एमालेको नेतृत्व सम्हाले गरी आएको एमाले भित्रबाट चर्चा हुन थालेको छ।