काठमाडौं । फिफा क्लब विश्वकप फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । गएराति अमेरिकाको मेटलाइफ स्टेडियममा भएको फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३-० ले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो हाफमै ३ गोल गरेको चेल्सीका लागि कोल पाल्मरले दुई गोल गरेका थिए भने जोआओ पेड्रोले तेस्रो गोल थपे।
पाल्मरले खेलको २२औं मिनेटमा गोल गरेका थिए भने ३०औं मिनेटमा उनैले पुनः दोस्रो गोल गरे । पेड्रोले खेलको ४३औं मिनेटमा गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो ।
दोस्रो हाफमा कुनै पनि गोल थप्न नसकेपछि चेल्सीले पीएसजीलाई हराउँदै उपाधि जित्न सफल भयो ।
फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित भएका थिए भने फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि उपस्थित थिए ।





