काठमाडौं । सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाने तयारी गरेको छ ।
आज दिउँसो एक बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणको कार्यालयमा पनि निवेदन दिने तयारी गरेको राप्रपाले गरेको छ ।
भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले गरेको थियो । सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको हो ।



