६ साउन, काठमाडौं । संघीय मानमिला तथा सामान्या प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापन र काज सरुवा सम्बन्धी मापदण्डलाई समय अनुकूल परिमार्जन गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन गर्नुभएको छ ।
मन्त्रालयका सचिव र सहसचिवहरुसँग मंगलबार मन्त्री न्यौपानेले निजामती कर्मचारी कर्मचारीहरुको सरुवा, पदस्थापन र काज सरुवा सम्बन्धी कामलाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउनका लागि मापदण्डलाई समय अनुकूल परिमार्जन गरी राय सुझाव पेश गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएकी हुन् । मापदण्डलाई समय अनुकूल परिमार्जन गरेपछि मात्रै काम हुने भएका कारण जतिसक्दो छिटाे सुझाव आफूलाई पेश गर्न उनले निर्देशन दिएकी छन् ।
विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अब साेही मापदण्डलाई कडाइका साथ अनिवार्य रुपमा लागू गरिने मन्त्री न्यौपानेको भनाइ छ । मन्त्री न्यौपानेले कर्मचारी सरुवालाई पूर्व-अनुमानयोग्य बनाउन पनि निर्देशन दिएकी हुन् ।





