समाचार

गत आर्थिक वर्षमा जिल्ला अदालत काभ्रेमा ९२ प्रतिशत मुद्दा फछ्याैट, १४ सय बढी फछ्याैट हुन बाँकी

६ साउन,काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/०८२ मा ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछ्याैट गरेको छ ।

साेही अवधिमा अदालतबाट २ हजार ३ सय २० मुद्दा फछ्याैट लक्ष्य राखिएकाेमा २ हजार १ सय २९ अर्थात ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछ्याैट भएको अदालतले जनाएको हो । १ हजार ३ सय ५८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए । तीसँगै गत आवमा दर्ता भएका २ हजार २ सय ३३ गरी कुल ३ हजार ५ सय ९१ मुद्दा रहेकामा २ हजार १ सय २९ फछ्याैट भएको र १ हजार ४ सय ६२ मुद्दा फछ्याैट हुन बाँकी रहेको कार्यालयका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् । त्यसमा ६ सय ३७ सम्बन्धविच्छेद, चेक अनादरका २ सय ४५, अंश चलनका ३ सय ३१, भरणपोषण ९८, जबर्जस्तीकरणीका ४४ र अन्य ८ सय ७८ रहेका छन् ।

त्यसैगरी, मेलमिलापमा पठाउने मुद्दाको लक्ष्य १ हजार ५ सय ६१ रहेकामा २६ दशमलव २५ प्रतिशत अर्थात् जम्मा २ सय ९६ पठाइएको जनाइएको छ । मेलमिलाप भएका ७८, मेलमिलाप हुन नसकेका १ सय ८५ र मेलमिलाप प्रक्रियामा बाँकी रहेको ३३ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा मुद्दाको बाँडफाँट गर्दै सुनुवाइ गर्ने गरेको छ । ६ महिनाभित्र सुनुवाइ गर्नुपर्ने सरल मार्गका मुद्दा हुन् भने एक वर्षभित्र र १८ महिनाभित्र सक्नुपर्ने मुद्दा सामान्य तथा विशेष अन्तर्गत पर्छन् ।

अदालतले लक्ष्य अनुसार मुद्दा फछ्याैट हुन नसक्नाका कारणमा मुद्दाको मार्गबमोजिमका फाँट निर्धारण र स्वचालित पेशी व्यवस्थापन गर्दा अलमल हुनुलाई मुख्य मानेको जनाएको छ । भदौमा न्यायाधीशको सरुवा, तालिम तथा न्यायाधीश बिदामा बस्नु परेको तथा वादी–प्रतिवादीले तारेख गुजार्ने र पेशी स्थगित गर्नुपर्ने भएका कारणले पनि मुद्दा फछ्याैटमा कमी भएको देखिएको अदालतले जनाएको हाे ।

जिल्ला अदालतका प्रमुख न्यायाधीश मातृकाप्रसाद आचार्यले विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएका नमूनाको परीक्षण प्रतिवेदन समयमा नआउने, सरकारवादी मुद्दामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपुर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा विलम्ब हुने गरेका कारण पनि मुद्दा फछ्याैटको लक्ष्य पूरा हुन नसकेको बताउनुभयाे।

अदालतले आव २०७९/०८० मा ६५ दशमलव ३३ प्रतिशत, २०८०/०८१ मा ५८ दशमलव ७९ र गत आर्थिक वर्ष २०८१/०८२ मा ५९ दशमलव २८ प्रतिशत मुद्दा फछ्याैट गरेको थियो ।