समाचार

सामाजिक सुरक्षा कोषद्वारा ३ अर्ब रुपैयाँ ब्याज वितरण

६ साउन, काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/०८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याज बापतको रकम वितरण गरेको छ

कोषले सोही योजना अन्तर्गत २३ लाख ७९ हजार ५ सय ८५ योगदानकर्ताको खातामा २ अर्ब ८४ करोड ४२ लाख २८ हजार ८ सय २८ ब्याज वितरण गरेको कोषका सूचना अधिकारी डा‍.रोशन कोजुले बताउनुभएकाे हाे । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५ दशमलव ५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म ५ प्रतिशतले ब्याज दिएको जनाएकाे छ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख ३ हजार ४ सय २६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५ सय ७३, अनौपचारिक ७ सय २० र स्वरोजगार ४ सय २२ गरी कुल २३ लाख ९० हजार १ सय ४१ योगदानकर्ता सूचीकृत भएका हुन् । कोषमा ८६ अर्ब ८६ करोड रुपैयाँ योगदान‌ संकलन भएको छ । कोषले विभिन्न सुविधा योजना अन्तर्गत योगदानकर्तालाई १५ अर्ब ७७ करोड रुपैयाँ दावी भुक्तानी गरेको हाे ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।