७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेका छन् ।
दुवै दलले संसदमा अवरोध गर्न थालेको ५८ दिन पुगेको हो । बुधबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नामा नेपाली बेचिने काम भइराखेको बताएकी छन्। तस्करको सेटिङ नरोकिएको भनेर उनले सरकार गम्भीर नभएको समेत बताएकी हुन् ।
७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसदमा नै रहेको उनको भनाइ थियो ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जताततै भ्रष्टाचार रहेको आरोप लगाएका छन्। भ्रष्टाचार अन्त्य गर्नका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई ल्याइनुपर्ने उनको जोड थियो । नेपालबाट कोरिया जानेलाई एउटै प्लेनबाट जाने भनेर कुरा मिलाएर खानेहरू समेत रहेको उनको दावी छ ।
आफूहरूले संसदमा गरेको विरोध सरकारले नसुनेको पनि उनले गुनासो गरेका थिए। भ्रष्टाचारसँग सम्बन्धित विषयमा छानबिन गर्न सरकार तयार नभए सडकबाट दवाव दिने उनको चेतावनी छ । रास्वपा र राप्रपाका सांसदहरू आफ्ना कुरा राखेर सभाकक्षबाट बाहिरिएका थिए ।





