समाचार

तराई मधेशमा खानेपानीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग सांसदको माग

७ साउन, काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले तराई मधेशमा खानेपानीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले लामो समयदेखि वर्षा नहुँदा सुक्खा र खडेरीले जनता पीडित भएका कारण तत्काल खानेपानी र सिंचाइको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । प्रतिनिधि सभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले तराई मधेशमा खानेपानी र सिंचाइको उचित व्यवस्थाका लागि तत्कालीन र दीर्घकालीन रुपमा काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

बैठकमा सांसद अब्दुल खाँनले संयुक्त राज्य अमेरिकाको लुसियाना राज्यमा १३ जुलाई २०२५ मा वर्षातका कारण निधन भएका नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको शव हालसम्म पनि स्वेदश ल्याउन नसकिएको अवगत गराउँदै तत्काल शव नेपाल ल्याउनका लागि पहल गर्नका लागि सरकरको ध्यानाकर्षण गराएका थिए । साथै उनले तराई मधेशमा लामो समय वर्षात नभएका कारण सुख्खा खडेरी भएकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी खानेपानी र सिंचाइको प्रबन्ध गर्न सरकारसँग माग गरेका हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बागलुङ र पर्वतमा केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको क्षतिप्रति जानकारी गराएका छन् । तत्काल उद्धार, राहत र पुनःस्थापनाको समेत उनले माग गरेका थिए । त्यस्तै, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बागलुङमा गत असार २५ गते गएको बाढीले ठूलो भौतिक क्षति भएको जानकारी गराएका छन् । पीडित जनताका आवाज सम्बोधनका लागि युद्धस्तरमा काम गर्न पनि उनले माग गरेका हुन् ।

त्यस्तै, नेकपा एमालेका सांसद वासुदेव घिमिरेले देशैभरी ठूलो वर्षा हुने अनुमान गरे पनि देशभरी सुक्खा खडेरी भएको बताएका छन् । पूर्वानुमान झुटो सावित भएको बताउँदै उनले यसले नागरिकमा सरकारप्रति विश्वास नहुने बताएका थिए । आगामी दिनमा सही सूचनाको आधारमा मात्र मौसम पूर्वानुमान गर्न जल तथा मौसम विज्ञान विभागलाई उनले आग्रह समेत गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले तराई मधेशमा पानीको हाहाकार भएपछि सरकारले सुक्खा क्षेत्र घोषणा गरेको बताएका छन् । तत्काल खानेपानी र सिंचाइको व्यवस्था गर्न समेत उनले माग गरेका थिए । साथै उनले रौतहटमा हात्तिको आक्रमणबाट स्थानीय पीडित भएको र समाधानका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सदनमा मन्त्रीहरुका अनियमितताका घट्ना पुष्टि भएपछि राजीनामा माग्दा पनि सुनुवाइ नभएको गुनासो गरेका थिए । रसुवामा आएको बाढीपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन पहल गरेकोमा उनले सरकारलाई धन्यवाद दिएका छन्। साथै उनले केरुङमा चीनको सीमानामा अलपत्र परेका नेपालका मालवाहक गाडी यसै सिजनमा नेपाल ल्याउन पहल गर्नका लागि समेत सरकारको ध्यानाकर्षण गर्राएका थिए ।

त्यसैगरी, नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले यहि साउन ३ गतेको कास्कीमा बाढीबाट भएको क्षतिको जानकारी गराएका छन् । स्थानीयस्तरमा उद्धार र राहतका सामग्री बढाउन पनि उनलेमाग गरेका हुन्।