८ साउन, रौतहट । रौतहटमा एक हप्तामा नै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर ३ जना किसानको मृत्यु भएको छ ।
बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको हो । बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिंचाइका लागि विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिएका छन् । सिंचाइ गर्न जडान गरिएको मोटरको तारबाट करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले बताएको हो ।
त्यस्तै, कटहरीया–२ जमुनिया टोलका लालमहमद देवानको ५२ वर्षीय छोरा मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उनले बताएका छन् । करेन्ट लागेर घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको हो।
यसअघि गत असार ३१ गते मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा गोलु भन्ने नरेन्द्र पटेलको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । यस वर्ष तराईमा खडेरी परेका कारण रोपाइँ गर्न नसकेपछि किसानहरुले मोटरबाट पानी तानेर रोपाइँ गर्नुपर्ने बाध्यता आएको छ।





