समाचार

जेष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

८ साउन, काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेको छ ।

महासंघका प्रतिनिधिहरु बिहीबार अध्यक्ष दाहालको निवास खुमलटारमा पुगेर जेष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् । महासंघले सार्वजनिक यातायातमा छुट,नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था र राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने लगायतका माग राखेको छ।

महासंघले २ हजार ५ सय भन्दा बढी जेष्ठ नागरिक नागरिकता विहीन रहेको र नागरिकता नहुँदा राज्यका सेवाबाट वञ्चित बनाइएको भन्दै समस्या समाधानका लागि नेतृत्व लिइदिन महासङ्घले अध्यक्ष दाहालसँग अनुरोध गरेको छ । महासंघका मागलाई गम्भीरतापूर्वक लिएको बताउँदै अध्यक्ष दाहालले जेष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका उनको सचिवालयले जनाएको हो । अध्यक्ष दाहालले भनेका छन्,- ‘तपाईहरूले उठाएका माग न्यायसङ्गत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागलाई कार्यान्वयन गर्ने सम्बन्धमा माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ।’

यसैबीच अध्यक्ष दाहालसँग बिहीबार कास्कीको माछापुच्रे गाउँपालिका धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको टोलीले खुमलटारमा नै पुगे। भेटगरी एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अगाडि नबढेको भन्दै पहल गरिदिन आग्रह गरेका छन् । प्रतिनिधिहरुले सोही क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायत प्रारम्भिक काम सम्पन्न हुनुका साथै पालिकाको पहलमा जग्गा हस्तान्तरण भइसकेको जानकारी गराएका थिए । प्रारम्भिक चरणमा बजेट विनियोजन, बोलपत्र आह्वान प्रक्रिया सम्पन्न भए पनि पछिल्लो समय आयोजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले सोही टोलीका प्रतिनिधिलाई माओवादी केन्द्रको तर्फबाट आयोजना अगाडि बढाउन सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका सचिवालयले जनाएको छ ।