८ साउन, सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं ७ गण, सिरहाले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ६० लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
यस अवधिमा लत्ता कपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशुचौपाया लगायतका विभिन्न सामग्री र गैरकानूनी रूपमा प्रयोगमा आएका सवारीसाधन नियन्त्रणमा लिइएका हुन् । सशस्त्र प्रहरी गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बरामद गरिएका अवैध सामग्री मध्ये लताकपडा मात्रै २ करोड ६६ लाख ८ हजार बराबरको रहेको छ । किराना सामान २ करोड २० लाख, हार्डवेयर ४३ लाख ५८ हजार, इलेक्ट्रोनिक्स ४० लाख ७१ हजार, मदिरा २३ लाख ५१ हजार, नगद ४ लाख, काठ ९३ हजार र पशुचौपाया १३ लाख ५६ हजार मूल्य बराबरका रहेका हुन् ।
त्यस्तैगरी अवैधकार्यमा प्रयोग गरिएका सवारीसाधन मध्ये २ सय २२ वटा मोटरसाइकल, ६ वटा पिकअप-स्कारपियो, २१ वटा ट्रयाक्टर, एक म्याजिक र ४ वटा सिटी सफारी-अटो-रिक्सा समेटिँदा ३ करोड ३७ लाख ८ हजार बराबरको मूल्य रहेको छ ।
सोही क्रममा १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले बताएको हो । गणपति भण्डारीले भनेका छन्, -सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा सक्रिय भएर सशस्त्र प्रहरी काम गरिरहेको छ । हामी आगामी दिनमा यस्ता गैरकानूनी कार्य विरुद्ध अझै कडा रूपमा प्रस्तुत हुने छौं ।’
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सशस्त्र प्रहरीले ८ करोड ४१ लाख बराबरको अवैध सामग्री बरामद गरेको थियो । यस वर्षको बरामद संख्याले यस पटकको नियन्त्रण अझ कडा रूपमा अघि बढेको देखाउँछ ।





