१४ साउन, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । आजै संसदीय दलको निर्वाचनको अन्तिम तयारी भइरहेका बेला मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुगंलाई बाग्मती प्रदेशको मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिए पनि श्रेष्ठ र गुरुगंलाई भने मन्त्रालयको जिम्मेवारी दिइएको अवस्था छैन । युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिँचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूमा बागमती प्रदेशले मन्त्री पाउन बाँकी छ ।
बागमती प्रदेशका नेपाली काँग्रेसका सभापतिसमेत रहेका इन्द्र बानियाँ पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएका कारण बागमती प्रदेश संसदीय दलको नेता गुम्ने अवस्थामा रहेका बहादुर सिंह लामा मुख्यमन्त्रीबाट राजीनामा दिने मोडमा छैनन् बरु उनले मन्त्रीपरिषद् विस्तार गरेका छन् । कानुनेसमेत संसदीय दलको नेता नभए पनि मुख्यमन्त्री बन्न पाउने प्रावधान राखेको, तथा अन्य कानुनलाई टेकेर मुख्यमन्त्री पदबाट राजीनामा नदिइएको तथा मन्त्रिपरिषद् बिस्तार नै गरिएको देखिन्छ । राजीनामा दिएका ४ मन्त्रीहरूको स्थानमा मन्त्री नियुक्त गरी बागमती प्रदेश मन्त्रीपरिषद्लाई पूर्णता दिने धयाउन्नमा लामा देखिएका छन् ।





