लुम्बिनी

दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

१५ साउन, काठमाडौं । दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा बिहीबार बिहान ११ बजे रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । सोही दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको प्रहरीले बताएको हो ।

दुर्घटना पछि ट्याक्टरले च्यापेको अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको प्रहरीले बताएको छ । गम्भीर घाइते उनीहरूलाई नजिकैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चेकजाँच गर्ने क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी गराएको छ ।

सोही दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीुपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको कार्यालयले जनाएको हो । ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट लागेका छ ।चालकले मापसे गरेका कारण दुर्घटना भएको प्रहरीको भनाइ थियो ।

चालकको अस्पतालमा मापसे चेकजाँच भइरहेको समेत प्रहरीले बताएको छ ।