समाचार

सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गरिएकोप्रति माओवादी सांसद दाहालको आपत्ति

१६ साउन, काठमाडौं । 
नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको भ्रामक प्रचारप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिन अघि सतहमा आएको थियो । त्यसपछि सांसद राजन अध्यक्ष पुष्पकमलको पक्षमा उत्रिएका थिए । योसँगै उपमहासचिव जनार्दन समर्थकले भने सांसद राजनको विषयमा विभिन्न टिका टिप्पणी गरेका थिए । सांसद राजनले अनर्गल र झुटो प्रचार गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

विगतको घटनाको यथार्थ नबुझी कतिपयले आधारहीन सामग्रीलाई समाचारको रूपमा प्रस्तुत गरेको भन्दै सांसद राजनले आपत्ति जनाएका हुन् । सांसद राजनको बारेमा जनयुद्धको समयमा आत्मसमर्पण गरेको आरोप लगाउँदै सामाजिक संजालमा उनका बिरोधीहरुले प्रचार गरेका थिए । सांसद राजनले माओवादी जनयुद्धको समयमा २०५३ साल माघ १ गते सिन्धुलीगढी प्रहरी चौकी आक्रमणको विषयलाई लिएर हातहतियार खरखजाना सम्बन्धी मुद्दामा सिन्धुली काठमाडौं-वीरगञ्ज जेलमा सजाय भोगेर २०५५ चैत २७ गते २ वर्षको जेल सजाय र ६ हजार जरिवाना तिरेर आफ्ना बुबा लिलानाथ दाहालको रोहबरमा थुनामुक्त भएको बताएका छन्।

त्यसपछि सांसद राजन पार्टीले खटाएको र जिम्मेवारी दिएको स्थानमा खटिएका थिए । तर सांसद राजनले आफू जेलमुक्त भएको घटनालाई लिएर अहिले बिरोधीले आत्मसमर्पण गरेको भनेर हल्ला फैलाएको बताएका हुन् । सांसद राजनले हाल पार्टी अनुशासन उल्लंघन र शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेका केही व्यक्तिहरूले पुरानो घटनालाई तोडमोड गरेर सामाजिक सञ्जालमा भ्रामक स्टाटस लेखेर बदनाम गर्ने प्रयास गरिरहेको दावी गरेका छन् ।

उनले सोही स्टाटसहरूलाई आधार मानेर केहीले समाचार बनाएको भन्दै गम्भीर आपत्ति समेत प्रकट गरेका हुन् । सांसद राजनले यो मुद्दाको कुनै पनि पक्ष आफूसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको जिकिर गरेका छन् । यस्ता भ्रामक प्रचारप्रति गम्भीर आपत्ति रहेको बताउँदै उनले सबैलाई सत्य बुझ्न र यस्ता भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।