समाचार

देशका विभिन्न स्थानमा जलसतह बढ्ने भएका कारण सावधानी अपनाउन महाशाखाको आग्रह

१८ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भएका कारण आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको हो । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले आइतबार बिहानसम्म सावधानी अपनाउनु जरुरी रहेको विभागले जनाएको छ।

रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेको हो । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले आइतबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै, म्याग्दी खोला, मंगलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेको हो । नदी तटीय क्षेत्र, कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले शनिबार मध्यराति सूचना जारी गर्दै जानकारी गराएको छ ।