समाचार

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

२० साउन, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाँ नियुक्त भएका छन् ।

बागमती प्रदेश सभामा १ सय १० सदस्यीय नेपाली कांग्रेस र नेकपा एमाले गरी ६४ जना सांसदहरुको समर्थनमा बानियाँ मुख्यमन्त्रीमा मंगलबार नियुक्त भएका हुन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार दिउँसो बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । योसँगै बानियाँ बागमतीको छैटौं मुख्यमन्त्री बनेका हुन् ।

बानियाँ भन्दा अघि ५ जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह तामाङ बागमती प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । त्यस्तै, मकवानपुरबाट मुख्यमन्त्री हुनेमा बानियाँ दोस्रो हुन् ।