समाचार

देशका बागमतीसहित ६ नदीमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन विभागको अनुरोध

२० साउन, काठमाडौं । देशका ६ वटा नदीमा बुधबारसम्म बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले त्यसका कारण उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । विभागले पूर्व राप्ती, बागमती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेती लगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। विभागका बाढीविद् विनोद पराजुलीले मंगलबार मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ बजेदेखि नदीको जलसतह घटेको जानकारी गाराएका थिए ।

उनले भनेका छन्,-‘बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ । तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो । अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ । काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने छ ।’

आकस्मिक बाढीको उच्च जोखिम रहेका कारण आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका हुन् । बाढीविद् पराजुलीले बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको समेत बताएका छन् ।