समाचार

देशभर जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, बागमती सहित ३ प्रदेशका केहि भु-भागमा भारी वर्षाको सम्भावना

२२ साउन,काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ ।

देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने भएको छ ।

कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी बिहिबार राति देशभर साधारणतया बदली रहने भएको छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।