२३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभएर गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन्।
मन्त्री न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएकी छन्। प्रशिक्षणमा सेल्फ लर्निङ, इलर्निङ र एआइलाई जोड दिनुपर्नेमा उनको भनाइ छ । निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रुपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने मन्त्री न्यौपानेले बताएकी हुन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपती, नेपाल सरकारका मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र अर्थमन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
सोही बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना (२०७९/०८०–२०८३/०८४) को तेस्रो वार्षिक प्रगति समिक्षा, प्रतिष्ठानको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा प्रतिष्ठानको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको थियो ।





