समाचार

दलित संघका पूर्वअध्यक्ष बस्यालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल दलित संघका पूर्वअध्यक्ष एवं पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी कांग्रेस सुर्खेतका पूर्वउपसभापति एवम् संविधानसभा सदस्य समेत रहेका बस्यालको निधनमा दुःख व्यक्त गरेका हुन् । क्यान्सर रोगबाट पीडित उनको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित निवासमा शुक्रबार बिहान निधन भएको थियो ।

२००८ साल माघ १५ गते जन्मिएका स्व. बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ। बस्यालको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले बस्यालको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको बताएका थिए । स्वर्गीय बस्यालले कांग्रेसको संघठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने सभापति देउवाले बताएका छन् ।

सभापति देउवाले स्व.बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट समेत गरेका थिए ।