समाचार

‘पर्वको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी हो’: सभापति देउवा

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरूको मौलिक साँस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शनिबार एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण नेपालमा विभिन्न जातजाति-समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू रहेको सभापति देउवाले बताएका थिए ।

‘विभिन्न चाडपर्वमध्ये श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दु धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषितर्पणी० तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्त्वपूर्ण पर्वहरू हुन् । जसले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेको सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’

सभापति देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति, परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताएका छन् । उनले यस्ता साँस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी भएको उल्लेख गरेका थिए ।