२५ साउन, कास्की । पोखरामा प्रहरीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्दै आएका उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुको साथबाट नगद ५ लाख १४ हजार रुपैयाँ समेत बरामद गरिएको भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी प्रमुख एवं उपरीक्षक श्यामबाबु ओलीयाले पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको जानकारी गराएका थिए ।
पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन् । उनीहरुको साथबाट ४ सय ४४ तोला चाँदी समेत बरामद गरिएको प्रहरी उपरीक्षक ओलीयाले बताएका छन्। बरामद गरिएको सुनको बजार मूल्य ११ करोड १ लाख रहेको छ ।
पक्राउ परेकाहरुलाई बरामद सुनचाँदी र नगदसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने कार्यालयले जनाएको हो ।





