समाचार

साउनको आज अन्तिम सोमबारः पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयमा भक्तजनको घुइँचो

२६ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ।

साउन महिनाको अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशैभरीका शिवालयमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए । अन्य विशेष पर्वमा जस्तै पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि ४ स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।

पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट र चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले सोमबार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । साउनको सोमबारलाई लक्ष्यित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ। यस वर्षको साउनको पहिलो सोमबारदेखि चक्रपथमा ४ वटा बस भक्तजन ल्याउन संचालन गरिएको कोषले जनाएको हो ।

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताएका छन् ।

पहिलो पटक साउने सोमबारको व्रत गर्नेले ५ वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता समेत रहेको छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान र पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

गोकर्णेश्वरमा पनि भक्तजनको घुइँचो:

त्यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको सोमबार बिहानैदेखि घुइँचो लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीन कालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यता समेत रहेको छ ।

यहि मान्यताका आधारमा बिहानैदेखि मन्दिरमा भक्तजनको चाप देखिएको हो । गोकर्णेश्वरमा पनि बिहान ३ बजेदेखि भक्तजनका लागि ढोका खुला गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष समेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिएका छन् ।

बागमतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् । आइतबार बोलबम काँवरिया संघमा आवद्ध भक्तजन सुन्दरीजल गई बसेका थिए । यी भक्तजनले सोमबार बिहानैदेखि शुद्ध जल ल्याएर भगवान् पशुपतिनाथलाई अर्पण गरिरहेका हुन् ।

 यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेंलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिर लगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । 

भगवान शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाइको दूध लगायत अर्पण गर्ने परम्परा छ। वर्षमा एक पटक साउन महिनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा समेत नेपाली समाजमा चल्दै आएको छ। यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख, शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ।

यसैगरी राजधानीका अन्य शिवालय वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत स्थानमा पनि भक्तजनको घुइँचो लागेको हो ।  

–––