राजनीति

निर्बाचनका लागि राजनीतिक दलसँग सरकारले संवाद गरी वातावरण बनाउनुपर्छः महासचिव पोख्रेल

२७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिएका छन् ।

नेपाल खेलकुद महासङ्घको पाँचौँ केन्द्रीय कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले फागुन २१ गते चुनाव गरेर दललाई सत्ता सुम्पिनुपर्ने बताए । महासचिव पोखरेलले गत भदौ २३ र २४ गते घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । उनले उक्त घटनामा तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई पहिचार गरेर दण्डित गरेर मुलुकलाई फेरि पनि लोकतन्त्र, शान्तिको दिशातिर फर्काउने कामलाई आवश्यक रहेको बताए । महासचिव पोखरेलले मुलुकमा शान्तिसुरक्षा अमनचयन गर्ने कुरा सरकारले प्राथमिकता राख्नुपर्ने बताए । उनले लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने खतरा रहेको बताए ।

उनले देशको सङ्कट टार्न प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताएका छन् । “संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पु¥याउनुपर्छ भन्ने छैन । ‘अर्ली इलेक्सन’मा जान सकिन्छ”, उनले भने, “यी सबै काम गर्न पहिलो शर्त प्रतिनिधिसभाको पुनःस्थापना हो ।” महासङ्घका अध्यक्ष परशुराम बस्नेतले जेनजीका माग सही भए पनि तोडफोड र लुटपाटले मुलुकको विकास निर्माणमा पछि धकेलेको दाबी गरे । उनले राजनीतिक दलहरुले जेनजीका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।