५ मङ्सिर, चितवन । निखिता गौतमका बुबा लोकनाथ गौतमले चितवनबाट काठमाडौँमा डेरा सरे । एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उनले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाए भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै थिए । त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले न निखिताको विदेश पढ्ने रहर पूरा हुन पायो, न त बुबाआमाको यहीँ राखेर पढाउने सपना साकार हुन नै पायो । आन्दोलनको दोस्रो दिन आफू बस्ने घरको छतबाट आन्दोलन नियालिरहेकी निखिताको त्यहीँ नै अन्तिम दिन बन्न पुग्यो । छतमा नै गोली लागेर घाइते हुनुभएकी उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।
काभ्रेबाट चितवनको कालिका नगरपालिका–८ मा स्थायी ठेगाना भएको गौतम परिवार धेरै वर्षदेखि काठमार्डौँ गएको थियो । त्यसो त चितवन फर्किने तयारीमा यहाँ घर निर्माण पनि भइरहेको छ । निखिताको अप्रत्याशित निधनले काठमाडौँ महानगरपालिका–९ गौशालामा बस्दै आएको उनको परिवारको योजना अहिले लथालिङ्ग बनेको छ । राजधानीमा फर्निचरको काम गर्दै आउनुभएका लोकनाथ अब पेसा छाडेर चितवन फर्किने तयारीमा हुनुहुन्छ । उनले भनले, “छोरीलाई यही उच्च शिक्षा पढाउने हाम्रो सपना अधुरै रह्यो ।”
निखिताले भर्खरै जेभियर कलेजबाट व्यवस्थापनमा कम्प्युटर साइन्समा १२ कक्षा उत्तीर्ण गर्नुभएको छ । उनका दाइ डेनमार्कमा छन् । स्नातक पढ्न वा स्नातक अध्ययन सकेर दाजुसँगै डेनमार्क जाने सपना उनले खेदेकि थिइन । परिवार उनलाई स्नातक यहीँ पढाउन चाहन्थ्यो । छोरी निखिता देशको अवस्था देखेर चिन्तित हुने गरेको लोकनाथले सुनाए । उनले भने, “अहिलेको देशको अवस्था देखेर छोरीले सधैँ चिन्ता व्यक्त गर्दै विदेश जाने चाहना राख्थिन् ।” बुबा लोकनाथले भन्नुभयो, “छोरीलाई उच्च शिक्षा प्रदान गरेर अन्याय र अत्याचारको बिरुद्धमा बोल्नसक्ने बनाउने मेरो सपना अधुरै रह्यो ।”
बुबा लोकनाथले भने, “नानी र हामी सबैको चाहना कसैमाथि अन्याय र अत्याचार नहोस् र सु–शासन होस् भन्ने हो ।” उनले अगाडि थप्नुभयो, “हाम्रो ठूलो सपना केही छैन, देशमा भएको आन्दोलनका उपलब्धिहरु संस्थागत भएर जनताले सुख पाऊन् ।” सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण हुन सकेमा सहिदहरुको सपना पूरा हुने उनको भनाइ छ । आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने र गोली चलाउनेलाई छानबिन गरी कारबाही भएमा बल्ल निखिताको आत्मले शान्ति पाउने उनको भनाइ छ । देश परिवर्तनका लागि सहिद भएकाहरुको सपना साकार पार्नका लागि सबै शक्ति एक भएर लाग्नुपर्ने उनले बताए ।
सन्तानको मृत्यु आमाका लागि झनै पीडादायी हुने गर्छ । छोरी निखिताको मृत्युपछि आमा कल्पना गौतमलाई निकै पीडा थपिएको छ । उनले भने, “एउटा छोरा विदेशमा छ, छोरीलाई यही राखेर पढाउने र बुढेसकालको सहारा बनाउने योजना हाम्रो थियो । अब यो कुरा हरायो ।” कालिका नगरपालिका–२ मा बन्दै गरेको नयाँ घरमा आएर स्नातक पढ्ने योजनामा रहेकी निखिता अस्ताएपछि त्यो घर खाली रहनेछ । बुबाआमाको काख रित्तियो, हातले काम गरेर खानुपर्ने मान्छे आज अपाङ्ग सरह हुनुप¥यो–आमाले गुनासो गरिन् ।
भदौ २४ गतेको घटना सुनाउँदै आमा कल्पनाले भनिन्, “बिहान ११ः०० बजे घरबाट निस्किएर आन्दोलन हेरेर फर्किएकी छोरी दिउँसो गुमाउनु प¥यो ।” आन्दोलनबाट फर्किएपछि निखिता घर नजिकै आएको आन्दोलनकारीको भीड हेर्न घरको छतमा जानुभएको थियो । गौशाला प्रहरी वृत्तनजिक रहेको उनी बसेको घरका धनीसहित धेरैजना छतबाट आन्दोलन हेरिरहेका थिए । आन्दोलनकारीले प्रहरी वृत्तमा आक्रमण र आगजनी गर्न थालेपछि प्रहरीले सुरुमा अश्रुग्यास र पछि गोली चलाउन थालेको कल्पनाले सुनाउनुभयो । त्यही क्रममा चलेको गोली लागेर निखिता र घरधनी कुमार उपाध्याय घाइते हुनुभएको थियो । भीडका कारण निकै कठिनाइका बाबजुद अस्पताल पु¥याउँदा निखिताको निधन भइसकेको थियो भने घरधनी उपाध्याय गम्भीर घाइते अवस्थामा थिए ।
निखितासँगै कक्षा ११ र १२ अध्ययन गर्नुभएकी कृश्चला घिमिरे आफू, निखिता र साइरा तामाङ एउटै बेञ्चमा बसेर पढ्ने गरेको बताए । घटना सुन्नेबित्तिकै पत्यार नलागेर फोन गर्दा एक जना काकीले ‘निखितालाई गोली लागेर अस्पताल लगेको’ सुनाउनु भएको स्मरण गरिन् । उनले थपिन्, “हामी बूढानीलकण्ठमा बस्छौँ, बाहिर निस्कन सकेनौँ, अन्तिम संस्कारमा पनि जान पाइन ।” बेञ्चमा सँगै बस्ने भए पनि निखिताले भविष्यको योजनाका बारेमा केही नभनेको उनले बताए । नतिजा आएपछि प्रमाणपत्रसमेत लिन नभ्याइएको भन्दै उनले मिल्ने साथी गुमाउनु पर्दा अत्यन्त पीडा भएको बताइन् ।
चितवनमै रहनुभएका लिखिताका ठूलो बुबा खड्ग गौतमका अनुसार गौतम परिवार २०५४ सालमा काभ्रेबाट चितवन आएको हो । भाइ लोकनाथको २०५७ सालमा यहीँ विवाह गरेको भन्दै उनले भाइ लोकनाथ भने त्यस अघिदेखि नै काठमाडौँमा रहँदै आएको बताए । २०६०÷६१ सालतिर भाइ–बुहारी दुवै काठमाडौँ गएको र छोरी काठमाडौँमै जन्मिएको उनले जानकारी दिए । आफ्ना पाँच दाजुभाइमध्ये दुई जना काभ्रेमा र तीन जना चितवनमा रहेकामा अहिले आफू मात्रै यहाँ भएको निखिताका ठूलो बुबा खड्ग बताए । भाइ लोकनाथले दसैँमा आउँदा अब चितवनमै आउने बताउनुभएको थियो । उनले भने, “सबै मेसोमेलो मिलाउँदै थिए, छोरीलाई गुमाउनु प¥यो । यो घटनाले हाम्रो परिवारमा ठूलो बज्रपात नै भयो ।”
जेभियर इन्टरनेस्नल कलेज कालोपुलका प्राचार्य दीपेन दाहालको भनाइमा निखिता जेहेन्दार विद्यार्थी थिइन् । गौतमलाई सम्झँदै दाहाल भने, “जेहेन्दार र असल विद्यार्थी आन्दोलनको दौरानमा गुमाउन पुग्यौँ ।” अनावश्यक साथीहरु नबनाउने, सीमित साथीमा रमाउन खोज्ने निखितालाई आन्दोलनमा सहभागी नभए पनि घरको छतमा बसेको समयमा गोली लाग्नु दुःखद भएको उनले सुनाए । उहाँको निधनप्रति कलेज निकै मर्माहित बनेको भन्दै उनले युवा पुस्ताको चाहनाअनुसार राज्य सञ्चालन हुनुपर्ने बताए । निखिता पढाइमा मध्यम भए पनि नियमित कलेज आउने र आफ्नो उद्देश्यमा सधैँ अडिग रहने विद्यार्थी भएको उनले जानकारी दिए । कक्षा १२ को नतिजा आइसकेको र अब स्नातक तह अध्ययनका लागि तयारी गरिरहेको समयमा भएको घटनाले उहाँप्रति दुःख व्यक्त गर्दै सहिदहरुको सपना साकार पार्न सबै लाग्नुपर्ने उनको भनाइ छ ।





