८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले नातेदार तथा पारिवारिक व्यक्तिहरूलाई नियुक्ति गरेको भन्ने आलोचनापछि प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा प्रतिक्रिया दिएको छ।
सचिवालयले सार्वजनिक गरेको विज्ञप्तामा प्रधानमन्त्री किंवा प्रमुख स्वकीय सचिवलाई नातेदारीको आधारमा आरोप लगाइएको दाबी असत्य रहेको र थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती सम्बन्ध जोडिएको भन्दै आपत्ति जनाइएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले बिहान जारी गरेको विज्ञप्तिमा, “प्रधानमन्त्रीको निवासमा २४ घण्टा नजिकबाट सहयोग गर्नुपर्ने भएकाले सुरक्षाका कारण विश्वासिलो र भरपर्दो व्यक्तिको कानुनसम्मत नियुक्तिलाई अन्यथा व्याख्या नगर्न अनुरोध,” उल्लेख छ।
कम जनशक्तिमा सञ्चालन हुँदै प्रधानमन्त्रीको सचिवालय
सचिवालयका अनुसार मितव्ययिता र पारदर्शितालाई प्राथमिकता दिँदै प्रधानमन्त्री कार्कीले अत्यन्त न्यून जनशक्तिमा सचिवालय सञ्चालन गर्दै आएकी छन्। कुल ६७ पदमध्ये २० जनामात्र राखेर सचिवालय सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ । विगत सरकारहरूले दरबन्दी लगभग पूरा गर्दै आएको पृष्ठभूमिमा यो निर्णय मितव्ययिताको उदाहरण भएको दाबी गरिएको छ।
भरोसा गर्न सकिने व्यक्तिलाई नियुक्त गरिएको स्पष्टता
प्रधानमन्त्रीको सचिवालय व्यवस्थापन कार्यविधि अनुसार प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीले नै नियुक्त गर्ने व्यवस्था स्मरण गराउँदै, कार्कीले भरोसा गर्न सकिने र आवश्यक समयमा साथ दिन सक्ने व्यक्तिलाई नियुक्त गरेको स्पष्ट पारिएको छ।
प्रधानमन्त्री कार्कीका परिवारमा श्रीमान् मात्र रहेको र उमेरका कारण दिन–रात साथ दिन सक्ने विश्वासिलो व्यक्तिको आवश्यकता परेको सचिवालयको भनाइ छ।
विज्ञप्तिमा पुनः दोहोर्याइएको छ:
“विश्वासिलो, भरपर्दो र चौबीसै घण्टा खटिनसक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई विवादित नबनाइदिनुहोस्।” सचिवालयले जेनजी आन्दोलनको बलमा दायित्व सम्हालेकी प्रधानमन्त्री कार्कीले पारदर्शिता, जवाफदेहिता र मितव्ययितालाई मुख्य सिद्धान्त बनाएर कार्यसम्पादन गर्दै आएको दाबी पनि गरेको छ।





