१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्याबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।
नेपालका सम्पूर्ण कम्युनिस्ट घटकहरूले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन र आत्मचिन्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै सहसंयोजक नेपालले विगतका विसङ्गति र गल्तीहरूको वस्तुनिष्ठ समीक्षा गरेर सही निष्कर्षमा पुग्न सके मात्र कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिने स्पष्ट पारे ।
एकताका लागि सबैभन्दा पहिला मन मिल्नुपर्नेमा जोड दिँदै उनले आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना भने नदेखेको धारणा राखे ।
‘कुराले चिउरा भिज्दैन’ भन्ने मदन भण्डारीको उक्ति स्मरण गर्दै उनले कुरा मात्रै गरेर केही नहुने जिकिर गरे । उनले यथार्थको धरातलमा टेकेर, व्यापक छलफल र बहस चलाउँदै अहिले मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।




