१९ मंसिर, काठमाडौँ । जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको तोडफोडबारे छानबिन गर्न बनेको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइरहेको छ। माइतीघरदेखि सुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवनतर्फ प्रवेश गर्ने प्रयासपछि रिजालले गोली चलाउन आदेश दिएका थिए।
आयोगका अनुसार उनको बयान दुई दिनदेखि चलिरहेको छ र शुक्रबारसम्म सकिने सम्भावना छ। आन्दोलनलगत्तै नयाँ सरकारले रिजाललाई काठमाडौँ प्रशासनबाट हटाउँदै सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाएको थियो। आयोगले उनलाई उपत्यका नछाड्न चेतावनी दिँदै पासपोर्ट रोक्का गर्न सिफारिस गरेको छ।
अन्य सरोकारवालाहरूले घटनाको सम्पूर्ण जिम्मा प्रमुख जिल्ला अधिकारीकै हुने भन्दै लिखित जवाफ दिएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि सर्वोच्च अदालतमा जिल्लाको शान्तिसुरक्षा प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्र भएकाले सुरक्षाकर्मीहरू उनी मातहत रहने उल्लेख गरेका छन्। तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेका छन्।





