समाचार

उच्च पदस्थलाई धम्की: ‘प्रकाश पाठक’ कनेक्सनमा दुई नियन्त्रणमा

१९ मंसिर, काठमाडौँ, । उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित धम्की–पत्र सार्वजनिक भएपछि प्रहरीले घटना शंकास्पद र गम्भीर ठहर गर्दै छानबिन तीव्र पारेको छ। धम्की दिएको भनिएका प्रकाश पाठकसँग चिनजान र सम्पर्क देखिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।

प्रहरीले नियन्त्रणमा लिइएको व्यक्तिहरूको परिचय भने सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार, “धम्की दिने व्यक्तिसँग कनेक्सन भेटिएकाले अनुसन्धानका लागि ल्याइएको” हो।

केही दिनअघि लेटरहेडमा उल्लेखित दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो, जसमा अख्तियार प्रमुख प्रेमकुमार राईदेखि पूर्वमन्त्री, पूर्वआईजीपी, व्यापारीहरूसम्मका नाम उल्लेख गर्दै धम्की दिइएको थियो। पत्रपछि प्रकाश पाठक नाम बताउने व्यक्तिले भिडियो सन्देशमार्फत राईलाई १० दिनभित्र राजीनामा गर्न चेतावनी पनि दिएका छन्।

उच्च पदस्थ व्यक्तिमाथि ‘ज्यानै मार्ने’ स्तरको धम्की आएपछि उपत्यका प्रहरीले सबै मातहतलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा प्रहरीसँग छलफल गरेको पुष्टि गरेको छ।