१९ मङ्सिर, काठमाडौँ । नेपालमा बाह्य मिचाहा प्रजातिको विविधता, वितरण, प्रभाव, नीतिगत अवस्थाको समीक्षा गर्न मङ्सिर अन्तिम साता पहिलो राष्ट्रिय सम्मेलन हुन लागेको छ ।
यही मङ्सिर २६ र २७ गते काठमाडौँमा हुने सम्मेलनमा मिचाहा प्रजातिसम्बन्धी विश्वव्यापी तथा राष्ट्रिय मुद्दामा विविध सरोकार भएकाहरूबीच सचेतना वृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालय, वन अनुसन्धान तथा तालिम केन्द्रको मुख्य आयोजनामा हुन लागेको सम्मेलनको नारा ‘बाह्य मिचाहा प्रजाति नियन्त्रणका लागि सहमति निर्माण’ रहेको छ ।
सम्मेलनमा मिचाहा प्रजाति नियन्त्रण तथा रोकथामका प्रभावकारी नीतिगत र कार्यक्रमगत प्रतिक्रियाका लागि सरोकार भएकाबीच सहकार्य निर्माण गरिने केन्द्रका उपसचिव सुनिता उलकले जानकारी दिए । मिचाहा प्रजातिका कारणले पारिस्थितिकीय प्रणालीमा क्षति पु¥याउने, जैविक विविधता र कृषि उत्पादनमा ह्रास ल्याउने तथा स्थानीय बासिन्दाको जीविकोपार्जनमा नकारात्मक असर पु¥याउने कार्य निरन्तर भइरहेको उनले बताए ।
“यो समस्या थप बढ्दै जाने अवस्था छ । त्यसैले सरकारी तथा शैक्षिक संस्था, संरक्षण तथा विकास साझेदार, गैरसरकारी संस्था तथा निजी क्षेत्रका साथै संरक्षण अभियानमा लागि रहेको प्रतिनिधिलाई एउटै साझा मञ्चमा ल्याएर मिचाहा प्रजातिसम्बन्धी सम्झदारी र सामूहिक कदममा सहमति निर्माण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो”, उपसचिव उलकले भने ।
बाह्य मिचाहा प्रजाति व्यवस्थापनसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलनले ज्ञान आदानप्रदान, राष्ट्रिय अवस्थाको मूल्याङ्कन, प्रभावकारी व्यवस्थापन उपायहरू पहिचान गर्ने तथा प्रमाणमा आधारित नीति सिफारिसहरू तयार गर्न अवसर प्रदान गर्ने उनको विश्वास छ ।
यसबाहेक सम्मेलनले दिगो विकास लक्ष्य र जैविक विविधता महासन्धिलगायत अन्तरराष्ट्रिय प्रतिबद्धतालाई राष्ट्रिय कार्ययोजनासँग समायोजन गर्न मद्दत गर्ने जानकारहरू बताउँछन् । सम्मेलनले विसं २०७८/७९ मा स्वीकृत राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजनाका उद्देश्य पूरा गर्न योगदान पु¥याउने बताइएको छ ।
सम्मेलनमा जैव–सुरक्षा ९वनस्पति तथा जनावर क्वारेन्टिन० तथा जैविक आक्रमण, वन तथा कृषि–वन प्रणालीका लागि विदेशी प्रजातिको प्रयोग, मत्स्य, एक्वाकल्चर तथा एक्वेरियममार्फत विदेशी प्रजातिको आगमन, फ्लोरिकल्चर र आक्रामक बोटबिरुवा परिचय, व्यापार, यात्रा तथा पर्यटनमार्फत आक्रामक प्रजातिको फैलावट तथा पूर्वाधार विकास र जैविक आक्रमणका विषयमा छलफल हुनेछ ।
यस्तै, कृषि तथा खाद्यसुरक्षामा आक्रामक प्रजातिको खतरा, आदिवासी तथा स्थानीय समुदायमा यसको प्रभाव, वन व्यवस्थापनमा यसको नियन्त्रण एकीकृत गर्ने, संरक्षित क्षेत्र तथा रामसार क्षेत्रमा मिचाहा प्रजातिको व्यवस्थापनबारे पनि छलफल हुने जनाइएको छ । यसका साथै सहरी योजना तथा सहरी जैविक विविधता व्यवस्थापनमा यसको संयोजन, विदेशी प्रजातिको आगमन, फैलावट तथा नियन्त्रणमा विभिन्न निकाय, साझेदार र सरकारी संस्थाको भूमिका, विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा जैविक आक्रमण र स्थानीय तहको भूमिका मिचाहा प्रजाति व्यवस्थापनसम्बन्धी समन्वय, सहकार्य र नीतिबारेमा छलफल हुनेछ ।
सम्मेलनमा नीतिनिर्माता, सरकारी अधिकारी, शोधकर्ता, शैक्षिक क्षेत्रका व्यक्ति, गैरसरकारी संस्थाका प्रतिनिधि, सामूदायिक सङ्गठनहरू, निजी क्षेत्र तथा मिचाहा प्रजाति व्यवस्थापनमा संलग्न सरोकार भएकालगायत करिब २०० सहभागी रहने आयोजकले जनाएको छ ।
नेपालमा २९ प्रकारका मिचाहा प्रजाति
तालिम केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनलगायत कारणले बाह्य प्रजातिको चुनौती बढ्दो रहेको जानकारी दिए। उनले भने, “नेपालमा हालसम्म २९ प्रकारका मिचाहा प्रजातिका वनस्पति देखिएको केन्द्रको तथ्याङ्क छ । यिनले अन्य स्थानीय वनस्पतिलाई दबाउँछ, वृद्धि हुन दिँदैन । सूर्यको प्रकाश पर्न नदिनेलगायत असर गर्दछ । मिचाहा प्रजाति आफैँ भने जटिल परिस्थितिमा पनि बाँच्न सक्छ ।”
विदेशमा हुने यात्रा र सँगै ल्याइने विभिन्न सामान, विदेशबाट ल्याइने वन पैदावार, काठ, बीउलगायत माध्यमले मिचाहा प्रजातिको प्रवेश हुने र अनुकूल हावापानीमा तीव्र रूपमा बढेर अन्य वनस्पतिलाई मासिदिने गरेको डा केसीले बताए । मिचाहा वनस्पतिको उपयोग गर्दा वतावरणीय दृष्टिले दिगो नहुने यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।
हाल झापामा उल्टेकाँडा झार निकै फैलिएको बताइन्छ, जुन तत्कालीन समयमा भुटानी शरणार्थीको घर छाउन भारतबाट ल्याइएको खरसँगै आयात भएको अध्ययनले देखाएको छ । राष्ट्रिय निकुञ्जका वनमा पाइने वनमारा र माइकेनिया झार, तालतलैयामा पाइने जलकुम्भी, बाँझो जमिनमा फैलिने निलोगन्धे झारलगायत प्रमुख मिचाहा प्रजाति हुन् ।
मिचाहा प्रजातिले खासगरी कृषिमा धेरै हानि पु¥याउने र सुक्खायाममा सुकेर डढेलोका प्रमुख कारक बन्ने गरेका छन् । नेपालका मिचाहा प्रजातिको आयात २०० देखि २५० वर्षदेखि भएको मानिन्छ ।





