२० मङ्सिर, काठमाडौँ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पूरा तयारी भएको जनाएको छ। आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब ९० दिन मात्रै बाँकी रहँदा निर्वाचनका सबै आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेका छन्।
प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरू, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूबीच शुक्रबार भएको छलफलमा आयुक्त भण्डारीले आयोग चुनाव सम्पन्न गराउने पूर्ण तयारीमा रहेको स्पष्ट पारे। उनले सरकारबाट आवश्यक सहयोग तथा प्रबन्धहरू क्रमशः प्राप्त भइरहेको उल्लेख गरे।
भण्डारीका अनुसार आयोगले माग गरेको करिब सात अर्ब बजेटमध्ये अर्थ मन्त्रालयले पाँच अर्ब ९६ करोड रुपैयाँको स्रोत पहिल्यै उपलब्ध गराइसकेको छ। बाँकी रकम पनि आवश्यकताअनुसार निकासा गर्ने मन्त्रालयको प्रतिबद्धताले निर्वाचन तयारीलाई थप सहज बनाएको आयोगको भनाइ छ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनाव लड्न इच्छुक राजनीतिक दललाई निवेदन दिन आह्वान पनि गरेको छ। हालसम्म १२० राजनीतिक दलले निर्वाचनमा सहभागी हुन आयोगमा निवेदन दर्ता गराइसकेका छन्।
चुनावको मिति नजिकिँदै जाँदा कार्यतालिका अनुसारका सबै कार्यक्रम समयमै अघि बढिरहेको र निर्वाचनको वातावरण अब झनै सुनिश्चित बन्दै गएको आयोगले जनाएको छ।





