२० मंसिर, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का स्थानीयवासीले सडक निर्माणमा देखिएको लापरबाही र पहिरो व्यवस्थापनमा गरिएको बेवास्तापछि शनिबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका छन्। स्थानीयहरूले कालो ब्यानर टाँगेर सडक रोकेका हुन्।
भोटेकोशी क्षेत्रमा विभिन्न ठाउँमा पहिरो खसेर दर्जनौँ बस्ती जोखिममा परेको, अब्जौँ राजस्व उठ्ने नाकालाई सरकारले बेवास्ता गरेको र वर्षौँदेखि पहिरो नियन्त्रणका काम नहुँदा जनजीवन संकटमा परेको भन्दै उनीहरूले आन्दोलित भएको जनाएका छन्। राजमार्ग अवरुद्ध हुँदा यातायात पूर्णरूपमा ठप्प परेको छ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख, प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार स्थानीयले तत्कालीन समाधानको माग राख्दै राजमार्ग रोक्का पारेका हुन्। प्रदर्शनकारीले राखेको ब्यानरमा “वार्षिक २० अर्ब राजस्व उठ्ने नाकालाई वेवास्ता किनरु दशकौँसम्म पहिरो नियन्त्रण किन गरिएन ? हाम्रो बाँच्ने अधिकार कहाँ छ ? ” जस्ता आक्रोशपूर्ण प्रश्नहरू लेखिएका छन्।
गत बर्खायता भोटेकोशी क्षेत्रमा लगातार पहिरो खस्दै आएपछि अरनिको राजमार्गका धेरै खण्डहरू महिनौँसम्म अवरुद्ध भए। राजमार्ग दशैंको मुखमा मात्र आंशिक रूपमा खुलेको थियो। सोही कठिनाइका बीच सडक विभागका महानिर्देशक डा। विजय जैसीसहितको टोलीले केही महिनाअघि अवलोकन गरे पनि प्रतिवद्धता अनुसारको दीर्घकालीन काम नआगाडि बढेको स्थानीयको आरोप छ।
सडक विभागले कात्तिक मसान्तसम्म दिगो रूपमा सडक निर्माण सुरू गरिने बताएको भए पनि बजेट नै सुनिश्चित नगरिएकाले काम रोकिएको स्थानीयको भनाइ छ। भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार पहिरोले बस्ती नै बग्नसक्ने अवस्था भएकाले सुरक्षाका लागि बलियो तथा स्थायी संरचना बनाउनु नै स्थानीयको मुख्य माग हो।
गुम्बाडाँडा, मिलन बजार, लालबिरचोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार र तामाङ गुम्बा गाउँलगायतका बस्ती उच्च पहिरो जोखिममा छन्। स्थानीयका अनुसार कुनै पनि बेला ठूलो विपत्ति निम्तिन सक्ने खतरा बढ्दै गएको छ।
स्थायी समाधान नआएसम्म आन्दोलन जारी रहने जनाउँदै स्थानीयले सरकार र सम्बन्धित निकायसँग तत्काल पहिरो नियन्त्रण तथा दिगो सडक निर्माण सुरु गर्न माग गरेका छन्।





