समाचार

दाङका निरज चौधरी हत्या प्रकरणमा महावीर चौधरी पक्राउ

२५ मङ्सिर, काठमाडौं । दाङका १९ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या प्रकरणमा महावीर चौधरी पक्राउ परेका छन्। कैलाली र राजापुर प्रहरीले संयुक्त रूपमा कैलारी–५ बैजपुरबाट उनलाई बुधबार बिहान पक्राउ गरेको हो।

महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्। राजापुरस्थित ‘हमार थारू रेष्टुरेन्ट’मा निरजलाई गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि महावीर मोटरसाइकल लिएर फरार भएका थिए।

प्रहरीले उनको साथबाट एक पेस्तोल र फरार हुन प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ। पेस्तोल हत्या गर्नै प्रयोग भएको हो/होइन भन्ने परीक्षण बाँकी छ।

यसअघि रेष्टुरेन्टका सञ्चालक बुद्धिप्रसाद चौधरी, उनकी श्रीमती र छोरा राहुललाई प्रहरीले पक्राउ गरिसकेको छ।