समाचार

नयाँ मन्त्री थप्न प्रधानमन्त्री कार्की तयार, आजै मन्त्रिपरिषद् विस्तार हुने

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र बनाएकी छन्। सरकार गठनपछि पहिला तीनपटक क्याबिनेट विस्तार गरिसकेकी प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

स्रोतका अनुसार आजै मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ। बिहीबार मात्रै प्रधानमन्त्री कार्की शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्तामा बसेकी थिइन्। सो भेटलाई आज हुने सम्भावित विस्तारसँग जोडेर हेरिएको छ।

आज विस्तार हुन लागेको मन्त्रिपरिषद्‍मा चार जना नयाँ मन्त्री समेटिने बताइएको छ। मन्त्रालय टुंगो लगाउने र राजनीतिक सहमति मिलाउने अन्तिम चरणको प्रक्रिया भइरहेको सरकार स्रोतले जनाएको छ।

सरकारमा सहभागी दलबीच अन्तिम छलफल चलिरहेको र आजै नयाँ मन्त्रीहरूले शपथ लिने तयारीसमेत गरिएको बताइन्छ।