समाचार

महान्यायाधीवक्ता सबिता भण्डारी बराल टीआई नेपालबाट निलम्बित

२८ मंसिर, काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ।

उनी सार्वजनिक पदमा नियुक्त भएसँगै र त्यसपछि केही विवादमा जोडिएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले उक्त निर्णय गरेको हो।

कार्यसमितिका एक सदस्यका अनुसार संस्थाका आफ्नै मूल्य–मान्यता र विश्वास रहेका छन्। संस्था तथा त्यसका पदाधिकारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन आवश्यक ठानेर अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरिएको हो।

उनका अनुसार विवाद सुरु भएपछि बराललाई राजीनामा दिएर विषय सहजीकरण गर्न सुझाव दिइएको थियो। तर उनले उक्त सुझाव अस्वीकार गरेकी थिइन्।

कार्यसमितिका सदस्यले विषयवस्तु स्पष्ट पारिएमा निलम्बनबारे पुनः विचार हुनसक्ने पनि बताए। सार्वजनिक पदमा रहेर उनले नै गर्नुपर्ने निर्णयका विषयमा सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निलम्बनको निर्णय लिइएको उनको भनाइ छ।

विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन र भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। बरिष्ठ अधिवक्ता समेत रहेकी सबिता भण्डारी बराल संस्थाकी साधारण सदस्य हुन्। यसअघि उनी पटक–पटक टीआई नेपालको कार्यसमितिमा समेत निर्वाचित भएकी थिइन्।