२९ मंसिर, काठमाडौं । भाजपाको उत्तर प्रदेश राज्यको अध्यक्षमा केन्द्रीय अर्थ राज्य मन्त्री पंकज चौधरी निर्वाचित भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय मन्त्री पियुष गोयलले आइतबार चौधरी अध्यक्ष चयन भएको जानकारी दिँदै भने, “पंकज चौधरीलाई सर्वसम्मतिले भाजपाको उत्तर प्रदेश राज्यको नयाँ अध्यक्षको रूपमा चयन गरिएको छ ।”
निर्वाचनपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले पंकज चौधरीलाई बधाई दिनुभएको छ। उहाँले सामाजिक सञ्जालमा लेखेका छन्, “पक्कै पनि उहाँको अनुभव र कार्यकुशलताले उत्तर प्रदेशमा पार्टीलाई बलियो बनाउन ठूलो भूमिका खेल्नेछ ।”
पंकज चौधरी उत्तर प्रदेश भाजपाको अध्यक्षका लागि उम्मेदवारी दिने एकमात्र नेता हुनुहुन्थ्यो । शनिबार पंकज चौधरीले आफ्नो नामाङ्कन पत्र दर्ता गर्दा मुख्यमन्त्री योगी आदित्यनाथ पनि प्रस्तावक थिए ।
शनिबार उम्मेदवारी दर्ता गरेपछि सांसद चौधरीले भने, “दिइएको जिम्मेवारीमा इमान्दारीका साथ काम गर्नु पार्टीको कर्तव्य हो र म यो जिम्मेवारीका लागि प्रतिवद्ध रहनेछु ।”
पंकज चौधरी गोरखपुरको छिमेकी क्षेत्र महाराजगञ्जबाट सांसद् हुनुहुन्छ भने योगी आदित्यनाथले गोरखपुरबाट भाजपाको सांसद्का रूपमा प्रतिनिधित्व गरे ।
चौधरीको जन्म सन् १९६४ २० नोभेम्बरमा उत्तर प्रदेशको गोरखपुर जिल्लामा भएको थियो । उहाँले गोरखपुर विश्वविद्यालयबाट स्नातक गरेका छन् । राजनीतिमा आउनुअघि नै उनको पारिवारिक र सामाजिक आधार बलियो थियो । उनले सन् १९८९ मा गोरखपुर महानगरपालिकाको पार्षद्को रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए भने सन् १९९० मा भाजपाको जिल्ला कार्यसमितिको सदस्य बन्नुभएको थियो र सोही वर्ष गोरखपुर नगरको उप–प्रमुख पनि बने ।
सन् १९९१ मा उहाँ महाराजगञ्ज लोकसभा सीटबाट पहिलो पटक लोकसभाको लागि निर्वाचित हुनुभएको थियो भने त्यसपछि उहाँ सन् १९९६ र सन् १९९८ मा पुनः सांसद निर्वाचित भएका थिए ।
सन् १९९९ मा पराजित भए पनि सन् २००४ मा पुनः विजय भएपछि प्रतिनिधित्वमा फर्किएका उहाँसन् २००९ मा एक पटक फेरि पराजित भएपनि सन् २०१४ देखि लगातार लोकसभाका लागि निर्वाचित सांसद् हुन् ।





