समाचार

‘पार्टीलाई विधिपूर्वक र सामूहिक नेतृत्वमा चलाउँछु’: पोखरेल

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधिपूर्वक र सामूहिक नेतृत्वको आधारमा अघि बढाउन अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले पार्टी सञ्चालनको शैली सुधार्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीलाई विचार, संगठन र नेतृत्व तीनै तहमा पुनर्गठन तथा पुनर्व्यवस्थित गर्नुपर्ने धारणा राखे । साथै पार्टीको कार्यसम्पादन प्रणालीलाई पनि समयअनुसार अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ ।

महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले एमालेलाई थप आधुनिक र प्रभावकारी बनाउने दिशामा अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष पदका उम्मेदवार पोखरेलले पार्टीभित्रको प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे । उनले भूमिगत राजनीतिदेखि खुला राजनीतिक अभ्याससम्म प्रतिस्पर्धा हुँदै आएको स्मरण गराउँदै जनताको बहुदलीय जनवादमा आधारित पार्टीमा आन्तरिक प्रतिस्पर्धा अस्वाभाविक नहुने स्पष्ट पारे ।