समाचार

जेन–जी घटनाको अनुसन्धानः तत्कालीन प्रहरी प्रमुख खापुङको बयान जारी

३ पुस, काठमाडौं । जेन–जी घटनाको अनुसन्धानको क्रममा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाश प्राप्त) चन्द्रकुवेर खापुङको बयान आयोगमा जारी छ। उच्चस्तरीय जाँचबुझ आयोगले २३ र २४ भदौमा भएका घटनाको छानबिनको क्रममा खापुङको बयान लिएको हो।

आयोगका स्रोतका अनुसार, बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बयान जारी गरिएको हो। जेन–जी घटनाका समयमा खापुङ प्रहरी महानिरीक्षक थिए र २३ भदौमा प्रहरीको गोली लागेर २२ जनाको मृत्यु भएको थियो। प्रहरीको अत्यधिक बल प्रयोगप्रति तत्कालै आलोचना समेत भएको थियो।

खापुङले आयोगलाई फिल्डमा खटिएका कर्मचारीको विवरण पठाउन ढिलाइ गरेपछि आयोगले उनलाई जरिवाना लगाउने तयारीसमेत गरेको थियो। यसपछि मात्र उनले आवश्यक विवरण आयोगलाई पेश गरेको दाबी आयोगले गरेको छ।

आयोगले घटनामा संलग्न सबै पक्षको बयान लिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारीमा आयोग पुगेको छ।