१० पुस, काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित बाइसधारा मन्दिर नजिक टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
बुधबार राति करिब साढे १० बजे बागमती प्रदेश ०१–००६ ख ३४५४ नम्बरको टिपरले लु ५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनामध्ये अर्घाखाँचीको मालारानी गाउँपालिका–५ घर भई हाल बसुन्धारामा बस्दै आएका २१ वर्षीय सागर खड्काको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, सन्धिखर्क नगरपालिका घर भई हाल बालाजु हाइटमा बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार राउतको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ र उनी बोल्न सक्ने अवस्थामा छैनन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





