१० पुस, काठमाडौं । वैकल्पिक शक्ति निर्माणको प्रयासअन्तर्गत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच छलफल तीव्र बनेको छ। बुधबारदेखि बालेनले ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेन्जनकारको निवासमा विभिन्न राजनीतिक नेता, अभियन्ता र व्यक्तिसँग भेटवार्ता गरिरहेका छन्।
सोही क्रममा कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य डा. सुनील शर्माले पनि बालेनसँग भेट गरी संसद् पुनर्स्थापनाको सम्भावना र त्यसका असरबारे छलफल भएको बताएका छन्। भेटपछि शर्माले अन्य समूहसँग भइरहेको छलफलबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।
आजै बालेन र रास्वपा सभापति रवि लामिछानेबीच वान–टु–वान वार्ता सुरु भएको छ। छलफलमा रविका साथमा असिम शाह र गणेश कार्की पुगेका भए पनि उनीहरू प्रत्यक्ष वार्तामा सहभागी छैनन्। वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल र जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङ पनि कुपण्डोल पुगेका छन्।
यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो छलफल भएको थियो। उक्त भेटमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व रविले गर्ने तथा अर्को चुनावपछि नेतृत्वको भूमिकाबारे प्रस्तावहरूमा छलफल भएको बताइएको छ। ठोस सहमति नभए पनि सकारात्मक संवाद भएको उनीहरू निकट नेताहरूले बताएका छन्।
पछिल्ला दिनमा बालेनको राजनीतिक सक्रियता बढेको देखिन्छ। उनले ऊर्जा मन्त्री कुलमान घिसिङलगायत विभिन्न व्यक्तिसँग पनि छलफल गरिसकेका छन्।





