१० पुस, चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
जगतपुरमा बसेको क्षेत्रीय बैठकले दाहाललाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस प्रक्रिया जिल्ला हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने नेकपा नेता सन्तोष पनेरुले जानकारी दिए ।
एक वर्षे कार्यकाल बाँकी रहँदै दाहालले महानगर प्रमुख पदबाट राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ । बैठकमा उपस्थित दाहालले झन्डै ९ वर्षको कार्य अनुभव र जनताको साथलाई आधार बनाएर निर्वाचनमा अघि बढ्ने बताइन् ।
चितवन क्षेत्र नं. ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडाहरू पर्दछन् । २०७४ मा यसै क्षेत्रबाट उनका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।





