समाचार

झुटो बयान दिएको ठहर गर्दै पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा

काठमाडौं, १७ पुस । विशेष अदालतले पोखराको लिचीबारी जग्गा भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ। इजलासमै झुटो बयान दिएको ठहर गर्दै अदालतले गुप्ताविरुद्ध पेश भएका प्रमाणहरू विश्वसनीय देखिएको निष्कर्ष निकालेको हो।

अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले घुस मुद्दामा गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेश दिएको हो। घुस खाएको अभियोगमा पूर्वमन्त्री थुनामा परेको यो दुर्लभ घटना हो।

पूर्वमन्त्री गुप्तामाथि कास्कीका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गराइदिने र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा संलग्न भई ७८ लाख रुपैयाँ घुस लिएको आरोप छ। अदालतले फोन संवाद, अडियो फरेन्सिक प्रतिवेदन, बैंक कारोबार र फोटोसहितका प्रमाणलाई आधार मानेको छ।

विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा गुप्तालाई थुनामा राख्ने आदेश गरिएको अदालतले जनाएको छ।