१७ पुस, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा कार्यरत दुई जना मजदुर मृत अवस्थामा फेला परेका छन् । मृतकमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन् ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ग्रामपोस्ट–६६ का ३० वर्षीय विनोद कुमार छन् । उनीहरू बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा ड्युटीमा खटिएका थिए ।
कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहीबार बिहान सवा ९ बजे ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी प्रहरीलाई गराएका थिए । सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुशील घिमिरेले बताए ।
प्रहरीका अनुसार मृतक दुवै मजदुरको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, मृतकका आफन्तले घटनालाई शंकास्पद भन्दै उद्योग परिसर घेराउ गरी प्रदर्शन गरेका छन् । उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । हाल घटनास्थलमा ३१ जना प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





